बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ । सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ । तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन् । बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ । अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिनुभयो । “उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०/३५ घर छन्, जसमध्ये १०/१२ घर त पूर्णरुपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ”, कार्कीले भन्नुभयो, “सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।”
