अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० हजार मे.टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि उक्त परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मे.टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८÷८९ मा धान÷चामल÷कनिकाको आयात भने करिब रु चार अर्ब अर्थात् ६.३ प्रतिशतले घटेको थियो । आव २०७८÷७९ को पाँच महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८.२ प्रतिशतले कमी आएको आँकडाले देखाएको छ । यसैबीच, मन्त्रालयको तथ्याङ्कअनुसार, मुलुकमा चैते र वर्षे गरी १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको छ । धान नेपालको प्रमुख खाद्यन्न बाली हो । हाल धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार चार सय ७२ मे.टन र उत्पादकत्व ३.७९ मे.टन प्रतिहेक्टर रहेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
