कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ । चुनौती नै चुनौतीको चौबाटोमा धकेलिएको सन् २०२३ को भविष्य विभाजनको घेराबाट बाहिरिएर आपसी एकताका साथ समयको हाँक सामना गर्दै विगतका कमीकमजोरीबाट पाठ सिकेर अघिबढ्ने भन्ने निर्णयमा निर्भर हुनेछ । अन्तर्राष्ट्रिय मौद्रिक र व्यापार प्रणालीमा ठूलो उतारचढाव आयोभने अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धि यो वर्ष ३.२ प्रतिशतबाट २०२३ मा २.७ प्रतिशतमा घट्ने प्रक्षेपण गर्यो । युरोजोन र जापानमा मुद्रास्फीति नयाँ उचाईमा पुग्यो । राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलनले करिब ९० विकासशील देशको मुद्रा डलरको तुलनामा कमजोर भएको जनायोभने कोषले ६० प्रतिशतभन्दा बढी कम आय भएका विकासशील देश ऋण सङ्कटमा परेको विवरण सार्वजनिक ग¥यो । अघिल्लो वर्षको प्रारम्भदेखि नै युरोपको आकाशमा मडारिएको युद्धको कालो बादल रुस–युक्रेन द्वन्द्वले विश्वभर पीडा र अनिश्चयमात्र थोपरेन अपतिु औषधिलगायत अत्यावश्यक सामग्रीको आपूर्ति शृङ्खलालाई तहसनहस बनायो । गहिरिदै गएको युक्रेन सङ्कटले क्षेत्रीय र वैश्विक सुरक्षामा अन्तहीन अवरोध खडा गर्यो । अमेरिकासहितका पश्चिमा राष्ट्र मस्कोको विरोधमा उत्रदा चीन र इरानलगायत केही देशको मौनताले युक्रेन युद्ध अन्त्य गर्ने प्रभावकारी प्रयास हुन सकेनन् । अन्ततः विश्वव्यापी सुरक्षा व्यवस्था नै जोखिमको शिकार भयो ।