बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् । गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे भएको थियो । सर्वे भएकामध्ये १० झोलुङ्गे पुलको मात्रै निर्माण सम्पन्न भएको विवाइसीका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो । ढोरपाटन–२ सिमलचौर, ढोरपाटन–७ का पँधेरी र ढोरपाटन–९ को रासीबाङ्ग, बरेङ–२ को काउला, बरेङ–१ को दोभानखोला, ताराखोला–२ को दोभान, ताराखोला–३ को निस्दीखोला, ताराखोला–३ को सादी, ताराखोला–४ को दोगाडी र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्ने गरेका छन् । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ (टिविएसयु) र पिटिएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको केसीले जानकारी दिनुभयो ।
