गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताउनुभयो । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उहाँले भन्नुभयो, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।” शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ । “बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन”, शेर्पाले भन्नुभयो, “बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथको अभाव हुने गरेको छ ।” जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल रु १५ हजारमा खरिद गर्ने गरेको उहाँको बताउनुभयो । एक क्विन्टल कच्चा पर्दाथबाट दुई हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिनुभयो । उद्योगमा अहिले परिवारका तीन सदस्यसहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब रु आठ लाखको लागतमा उद्योग सञ्चालन गरेको बताउनुभयो । “उद्योगका लागि दक्ष कामदारलाई खाने–बस्ने सुविधासहित रु १० हजारदेखि १५ हजार तलब दिने गरेको छु”, शेर्पाले भन्नुभयो, “चर्को घाम लागेको दिन एक जना कामदारले दैनिक दुई सय पन्ना कागज उत्पादन गर्न सक्छ ।”