दश स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युतीकरणलाई तीव्रता दिएको हो । ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत सर्भे सुरु गरिएको छ । सात वडा रहेको ऐसेलुखर्क गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत् विस्तार गर्ने योजनासहित ठेकेदार कम्पनी सिग्माकोनले सर्भेको काम सुरु गरेको हो । ऐसेलुखर्क –१ राखाबाङ्देल, वडा नं २ बाकाचोल र वडा नं ३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई–दुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताउनुभयो । सात वडामध्ये जलेश्वरी, राखाबाङ्देल र बाकाचोललाई हालसम्म विद्युत्ले छोएको छैन । वडा नं ७ माक्पा, वडा नं ५ महेश्वरी, वडा नं ६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र विद्युत् विस्तार भएको छ । बाँकी वडा र उपभोक्ताको घरमा विद्युत् विस्तारका लागि शुक्रबार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबीचको बैठकले १८ महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सात वडामध्ये अहिले माक्पामा मात्र अधिकांश उपभोक्ताको घरमा विद्युत् विस्तार भएको प्रवक्ता राजभण्डारीले बताउनुभएको छ । प्राविधिक टोलीले ट्रान्समिसनलाइनको रुट निश्चित गर्दै पोल राख्ने स्थान, विस्तार गर्न लाग्ने तार, लाभान्वित हुने उपभोक्तालगायतका बारेमा डिटेल सर्भे गर्ने जनाइएको छ ।