अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो । दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा परेका छन् । नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ । सो मध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्षयता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएका छन् । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन सबैमा व्यवसायी नोक्सानमा रहेको जानकारी दिनुभयो । दैनिक घाटा व्यहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बैंक चाहिने जति ऋण दिँदैन, भएको ऋणमा मनपरी ब्याज बढाउँछ । कच्चा पदार्थको मूल्य आकाशियो, व्यवसाय कसरी धान्ने ?” नेपालमा २३ वर्षदेखि पोल्ट्री व्यवसाय आत्मनिर्भर भएको जनाउँदै उहाँले विकसित मुलुकमा पनि सबै कुरामा आत्मनिर्भर नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन् ।”
