साउन ७ नेपाल।
कमलामाई नगरपालिकाले वडा नं. ६ खम्बेश्वरीस्थित सिटी हल भवन १० वर्षको लागि भाडामा दिन विद्युतीय प्रस्ताव आह्वान गरेको छ।
नगर कार्यपालिकाको मिति २०८३/०३/०९ को निर्णय र “सिटीहलको भाडा/बहाल व्यवस्थापन कार्यविधि, २०८२” बमोजिम पाँचौं पटक सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ। सूचना प्रकाशन मिति २०८३/०४/०७ हो।
नगरपालिकाका अनुसार इच्छुक फर्म वा कम्पनीले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र http://www.bolpatra.gov.np/egp मार्फत मात्र विद्युतीय प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव खोल्ने काम १६ औं दिनको दिउँसो १२:१५ बजे हुनेछ।
भाडा र शर्त के छन्?
नगरपालिकाले तोके अनुसार सिटी हलको न्यूनतम मासिक भाडा मूल्य अभिवृद्धि कर बाहेक रु. ४ लाख ५० हजार हुनेछ। सम्झौता भएको मितिले पहिलो २ वर्षसम्म भाडा वृद्धि नहुने र त्यसपछि प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले बढ्ने व्यवस्था छ।
प्रस्तावदाताले कबोल गरेको २४ महिनाको भाडाको ५ प्रतिशत बराबरको रकम धरौटी वा सोही बराबरको बैंक जमानत पेश गर्नुपर्नेछ। त्यस्तै सम्झौता गर्दा वार्षिक भाडाको कर सहित बराबरको रकम धरौटी राख्नुपर्ने वा १५ महिना म्यादको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने शर्त राखिएको छ।
कागजात र अन्य व्यवस्था
प्रस्ताव साथ आ.व. ०८२/०८३ सम्म नविकरण भएको कम्पनी दर्ता, व्यवसाय इजाजत, मु.अ.कर दर्ता र आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र अनिवार्य अपलोड गर्नुपर्नेछ। प्रस्ताव फारम दस्तुर रु. ३ हजार तोकिएको छ।
समयमा भाडा नबुझाए पहिलो महिना १० प्रतिशत र दोस्रो महिनादेखि १५ प्रतिशत जरिवाना लाग्नेछ। लगातार ३ महिनासम्म भाडा नबुझाए सम्झौता भंग गरिने नगरपालिकाले जनाएको छ।
सबैभन्दा बढी भाडा कबोल गर्ने र न्यूनतम योग्यता पुगेको प्रस्तावदाताको प्रस्ताव स्वीकृत हुने बताइएको छ। थप जानकारीका लागि नगरपालिकाको पूर्वाधार विकास शाखा वा राजस्व शाखामा सम्पर्क राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।


