साउन ५ नेपाल।
श्रम संस्कृति पार्टी, मकवानपुर जिल्ला कार्य समितिले आज बिहान जनकपुरधामस्थित नेपालको धार्मिक आस्था र राष्ट्रिय पहिचानको केन्द्र जानकी मन्दिर परिसरमा आफ्ना पदाधिकारीहरूमाथि भएको आक्रमण, हातपात, दुर्व्यवहार तथा अवरोधको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले मिति २०८३/०४/०५ मा जारी गरेको विज्ञप्तिमा आस्थाको केन्द्रजस्तो पवित्र स्थलमा राजनीतिक प्रतिशोध, गुण्डागर्दी, धम्की र हिंसात्मक गतिविधि प्रदर्शन गर्नु लोकतान्त्रिक व्यवस्था, धार्मिक सहिष्णुता, कानुनी शासन तथा नागरिकको मौलिक अधिकारमाथिको खुला चुनौती भएको उल्लेख गरेको छ।
पार्टीका मागहरू:
विज्ञप्तिमा यदि यस घटनामा कुनै राजनीतिक दल वा त्यससँग आबद्ध व्यक्तिहरूको संलग्नता पुष्टि हुन्छ भने उनीहरूलाई कुनै पनि राजनीतिक संरक्षण नदिई कानूनबमोजिम तत्काल पक्राउ गरी कडा कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा नेपाल प्रहरी समक्ष जोडदार माग गरिएको छ।
पार्टीले दोषीलाई उन्मुक्ति दिने वा घटनालाई ढाकछोप गर्ने कुनै पनि प्रयास जनताको न्यायप्रतिको विश्वासमाथि गम्भीर प्रहार हुने चेतावनी दिएको छ।
श्रम संस्कृति पार्टीले अन्याय, दमन, हिंसा र राजनीतिक आतंकका विरुद्ध सदैव दृढतापूर्वक उभिने स्पष्ट पार्दै यस्ता घटनाको पुनरावृत्ति भए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय र दोषी पक्षले नै वहन गर्नुपर्ने बताएको छ।
विज्ञप्तिमा जिल्ला अध्यक्ष रुद्र बहादुर मुक्तान र जिल्ला सचिव युवराज राईको हस्ताक्षर रहेको छ।

