माघ १२ नेपाल ।

नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको विदितै छ। राष्ट्रिय झण्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झण्डा फहराउने विधि एवम् राष्ट्रिय झण्डाको प्रयोगमा निषेध सहितका प्रावधानहरु रहेको गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधि बमोजिम राष्ट्रिय झण्डाको प्रयोग भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने प्रावधान रहेको गृह मन्त्रालयले जनाएको छ।

राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरूपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री बाहिरी कपडामा राष्ट्रिय झण्डांको प्रतिक/चित्र राख्न, फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ऱ्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था उल्लङ्घन गरेमा कानूनी कारवाही हुने प्रावधान रहेको गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लंघन भएमा सजायको व्यवस्था समेत गरिएको गृह मन्त्रालयले जनाएको छ।

राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्नुहुन अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।