माघ ५ नेपाल ।

२८६२ औं सोनाम ल्होछारको अवसरमा तामाङ समुदायहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले शुभकामना दिएका छन् ।

प्रचण्डले जारी गरेको शुभकामनामा भनिएको छ ´आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दै सोनाम ल्होछार केवल नयाँ वर्षको उत्सव मात्र होइन; यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो। डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ`।

´तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु-टुङ्‌नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको छ। यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो`।

´आज पनि सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी छ। सोनाम ल्होछारले हामी सबैलाई विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनाओस्` ।

´यस अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको कामना गर्दछु`। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड द्वारा जारी शुभकामना पत्रमा भनिएको छ।