माघ ५ नेपाल ।
२०८२ भदौ २३ गतेको जेन-जी आन्दोलन, तत्कालीन सरकारको दमन तथा त्यसपश्चात् उत्पन्न जनविद्रोहबाट सिर्जित परिस्थितिमा राष्ट्रिय हितलाई प्राथमिकतामा राखी देशलाई विषम अवस्थाबाट निकास दिन ‘आवश्यकताको सिद्धान्त’को आधारमा सम्माननीयज्यूको नेतृत्वमा गठित नेपाल सरकारमा जेन-जी पुस्ताको प्रतिनिधित्व समेत हुने गरी मलाई युवा तथा खेलकुद मन्त्री पदको जिम्मेवारी प्रदान गरी देश र समाजको हितमा काम गर्ने अवसर दिनुभएकोमा तपाईप्रति तथा नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
सरकार गठन हुँदै निर्वाचनको मिति तोकी निष्पक्ष निर्वाचन सम्पन्न गराउने गहन र विशेष जिम्मेवारीका साथ बनेको वर्तमान सरकार विशेष परिस्थितिमा गठन भएको गैरदलीय नागरिक सरकार हो। हालसम्म म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहे तापनि, आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने क्रममा दलगत आबद्धता रहन जाने भएकाले, यस गैरदलीय सरकारको गरिमा, उद्देश्य र विशेषतालाई सम्मान तथा समर्थन गर्दै म आजकै मितिदेखि नेपाल सरकारको मन्त्री पदबाट स्वेच्छिक रूपमा राजीनामा प्रस्तुत गर्दछु।
मन्त्रालय सम्हाल्ने अवधिमा प्राप्त सहयोग, सद्भाव तथा सहकार्यका लागि मन्त्रिपरिषद्का सदस्यहरू, कर्मचारी वर्ग तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। पदमा रहँदा वा नरहँदा सदैव राष्ट्र र जनताको हितका लागि आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु।

