माघ १ नेपाल
पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ ।
केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।
केन्द्रीय महाधिवेशनको एक महिना अगाडि केन्द्रीय महाधिवेशनका प्रतिनिधिले आ-आफ्नो जिल्लामार्फत केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रमा बुझाउनु पर्नेछ ।
केन्द्रीय महाधिवेशनको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तिमा दश प्रतिशत सदस्यले केन्द्रीय कार्यसमितिको कुनै पनि निर्णय पुनरावलोकन गर्न केन्द्रीय महाधिवेशन भन्दा एक महिना पहिले नै केन्द्रीय कार्यालय मार्फत केन्द्रीय महाधिवेशनमा प्रस्ताव प्रस्तुत गर्न सक्नेछन् । त्यसरी प्रस्तुत हुने प्रस्तावमा छलफल गरी निर्णय गरिनेछ ।
महाधिवेशनवाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिनेछ । सो का लागि पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्नेछ ।
