पुस २७ नेपाल

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ। आजको यस ऐतिहासिक दिनले सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमिकताको संरक्षणका लागि एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हाम्रो कामना छ।

राष्ट्र निर्माताको जन्मजयन्तीका अवसरमा नेपाल सरकारले पछिल्ला केही वर्षदेखि सार्वजनिक विदा दिँदै आएको सन्दर्भमा, यो दिन केवल विदासम्म सीमित नराखी राष्ट्रिय एकता दिवसका रूपमा देशव्यापी रूपमा राज्यका सम्पूर्ण निकायबाट गरिमामय ढंगले मनाइनु आवश्यक छ। साथै, राष्ट्र निर्माताको सम्मान र स्मरणस्वरूप उहाँको तस्वीर अंकित मुद्रा तथा हुलाक टिकट प्रकाशन गरिनु उपयुक्त हुने हाम्रो माग छ।

नेपाली सेनाले आफ्नो संस्थापकका रूपमा जसरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई उच्च सम्मानका साथ स्मरण गर्दै आएको छ, त्यसैगरी हामी सबै नेपालीले पनि कुनै आग्रह वा पूर्वाग्रह नराखी आफ्नो देशका निर्माता प्रति सम्मान प्रकट गर्नु आजको आवश्यकता हो। वर्तमान मुलुकको संवेदनशील र अस्थिर राजनीतिक अवस्थामा देश अपेक्षित दिशामा अघि बढ्न नसकेको यथार्थ हामी सबैका सामु स्पष्ट छ।

यस सन्दर्भमा, राष्ट्र निर्माता द्वारा प्रतिपादित “दुई ढुंगाको तरुल” सिद्धान्तमा आधारित सुरक्षित र स्थिर भविष्यका लागि राजसंस्थाको पुनःस्थापना आज एक अनिवार्य आवश्यकताका रूपमा देखिएको छ। अन्यथा नेपालको भविष्य सुरक्षित रहन सक्दैन। नेपालका लागि नेपाली पार्टी द्वारा जारी शुभकामना सन्देश तथा प्रेस बिज्ञप्तिमा भनिएको छ।