पुस २३ नेपाल ।

पछिल्लो समय पर्साको वीरगञ्ज तथा धुनुषालगायत तराइका विभिन्न भूभागहरुमा धार्मिक सहिष्णुता, सामाजिक स‌द्भाव र शान्ति सुरक्षामा असर पर्ने गरी सामाजिक सञ्जाललगायतका माध्यमहरुमार्फत सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति एवम् धार्मिक आस्थाका केन्द्रहरुमा भएका तोडफोड र आगजनीप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। त्यस्ता घटना तथा गतिविधिहरुको आयोगले निरन्तर अनुगमन गरिरहेको छ। पर्साको वीरगन्जमा दुई समुदाय बिच विवाद भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको र धनुषाको कमला नगरपालिका-६ सखुवामडानमा पुष १९ गते भएको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै विविधता विचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र स‌द्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने कुरा उल्लेख गरिएको छ। उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नु, गराउनु सम्बद्ध सबैको कर्तव्य हुन आउँछ ।

प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अभिव्यक्ति स्वतन्त्रताका नाममा कनै पनि तरिकाचे गरिने धार्मिक तथा सामाजिक स‌द्भाव विथोल्ने खालका गतिविधि नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत हुन्छ । आफ्‌ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यताको पालना गर्नु जिम्मेवार नागरिकको कर्तव्य हुन्छ। साथै, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै संयमित भई शान्ति सुरक्षा कायम गर्नु सुरक्षाकर्मीको समेत दायित्व रहन्छ ।

अतः साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने संभावित घटना रोक्नका लागि संयमित भई कार्य गर्न र घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक तथा साँस्कृतिक ऐक्यवद्धताको सम्मान गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न, घटनाको गाम्भीर्यताप्रति संवेदनशील हुँदै संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, धार्मिक सामाजिक सद्भाव कायम हुने क्रियाकलाप र गतिविधि गर्न आयोग राजनीतिक दल, धार्मिक संघसंस्था, धर्म गुरु, धार्मिक एवम् सामाजिक अभियन्ता तथा नागरिक समाजलाई अनुरोध गर्दछ । साथै, एक आपसमा देखिएका विमतिहरुको समाधान वार्ताको माध्यमबाट खोज्न समेत आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ।