पुस २० नेपाल ।
अमेरिकाको ट्रम प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएला माथि १५० लडाकु एयरक्राप्टवाट नाङ्गो र कुर हमला गरेको छ । त्यहांका कैयौं नागरिकको हत्या गरेको छ, सैनिकहरूको हत्या गरेको छ, सैनिक संरचनाहरूलाई ध्वस्त पारेको छ र भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जवरजस्त अपहरण गरेर अमेरिका पुर्याइएको छ । यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो। म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारवाहीको कडा शब्दमा निन्दा र भत्सना गर्दछु ।
भेनेजुएला र राष्ट्रपति मदुरो माथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेको थियो । किनभने भेनेजुएला विश्वकै सवैभन्दा ठूलो तेल भण्डार भएको देश हो । अमेरिकीहरू त्यो भण्डार कब्जा गर्न र लुट्न चाहन्छन् । तर मदुरीको सरकार त्यो कार्यका निम्ति सवैभन्दा ठूलो अवरोध बनेको थियो। त्यहीं “अवरोध” लाई पन्छ्याउन ट्रम्प प्रशासनले “ड्रग ट्राफिकिङ “को झुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रुपले निर्वाचित राष्ट्रपतिमाथि पासाविक पाराले आक्रमण र अपहरण गरेको छ। यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन। यो अमेरिकी राज्य आतंकवाद पनि हो। यो कुर र निर्लज्ज आक्रमण विरुद्ध सम्पूर्ण भेनेजुयाली जनता साम्राज्यवादी आक्रमणका विरुद्ध उभिएका छन । विश्वका तमाम न्यायप्रेमी देशहरू र जनताहरू अमेरिकी आक्रमणका विरुद्ध उभिएका छन । संयुक्त राष्ट्र संघ र सिङ्गो तेस्रो विश्व यस आक्रमणका विरुद्ध उभिएका छन । उनीहरू सबैले अमेरिकी आक्रमणको निन्दा र भत्सना गरिरहेका छन। स्वंयम अमेरिकामा न्यायप्रमी अमेरिकी जनता यो हिस्रक आक्रमणको विरुद्ध सडकमा उत्रिएका छन ।
म नेपाली कम्युनिष्ट पार्टी र सम्पूर्ण न्यायप्रेमी नेपाली जनताको तर्फवाट यो अमेरिकी आक्रमणको फेरि पनि घोर निन्दा र भत्सना गर्दै भेनेजुएलाका जनताको विरोध र प्रतिरोधप्रति दरो ऐक्यवद्धता प्रकट गर्दछु। यस घोर अन्यायपूर्ण आक्रमणको विरोधमा उत्रिन आग्रह समेत गर्दछु । साथै भेनेजुएलाका जननिर्वाचित र वैधानिक राष्ट्रपति तथा प्रथम महिलाको सकुशल रिहाईको साथै संयुक्त राष्ट्र संघ र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंसक आक्रमणका विरुद्ध कडा कानुनी कारवाही गर्न, अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न, यो जङ्गली शासनको अन्त्य गर्न, साना र कमजोर मुलुकहरूको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न र विश्वबाट नै साम्राज्यवादी आक्रमणका सम्भावनाहरूलाई अन्त्य गर्न एकतावद्ध भएर अघि वढ्न नेपाली जनता र विश्वभरिका जनता र राष्ट्रहरू समक्ष जोडदार आग्रह गर्दछु पुर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।
