पुस १८ नेपाल ।
मिति २०८२ पौष १६ गतेका दिन सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतको १९ औँ अभिभावक भेला भव्यताका साथ सु-सम्पन्न भएको छ।
महाविद्यालय संचालक समितिका अध्यक्ष एवम् उत्तर पश्चिम पृतनाका पृतनापती उपरथी श्री दिपेश जंग शाहको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख वरिष्ठ उपसचिव श्री धीरेन्द्र प्रसाद शर्मा, विभिन्न सुरक्षा निकायका सम्बन्धित अधिकारीहरू ,विभिन्न विद्यालयका प्रिन्सिपलहरू,यस महाविद्यालयका पूर्व प्रिन्सिपल, उद्योग व्यवसायीहरू, शिक्षक कर्मचारीहरू ,सैनिक सक्कल दर्जा,अध्ययनरत विद्यार्थीहरू तथा निजका अभिभावकहरू र अन्य महानुभावहरूको उपस्थिति रहेको थियो।यस कार्यक्रमको शुरूवातमा महाविद्यालयका प्रमुख व्यवस्थापक प्र.से. श्री लक्ष्मण खड्का ज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने महाविद्यालयका प्रिन्सिपल श्री प्रेम बहादुर विश्वकर्माले शैक्षिक,सह-शैक्षिक एवम् अतिरीक्त शैक्षिक उपलब्धीहरू, भावी रणनितिहरू र शिक्षालाई प्रकृति, प्रविधि र संस्कृतीसँग सँयोजन गरी अग्रता कायम गराइएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अभिभावकहरू, सैनिक सक्कल दर्जा र शिक्षक कर्मचारीहरूलाई विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरे बापत पुरस्कृत गरिएको थियो।पुरस्कार वितरण पश्चात आफ्नो मन्तव्यमा प्रमुख अतिथिज्यूद्वारा अध्ययनरत विद्यार्थीहरू एवम् निजका अभिभावकहरू,कार्यरत शिक्षक/कर्मचारीहरूलाई उत्प्रेरणा प्रदान गर्दै अधिकतम लगनशिलता र प्रयासको फलस्वरूप यस महाविद्यालयले आफ्नो फरक पहिचान स्थापित गरेको र सोही गतिमा आफ्ना प्रयासहरू कायम राखेमा विशिष्टता हासिल गर्न सकिने कुरामा दुई मत नभएको धारणा व्यक्त गर्नुभएको थियो।
विद्यार्थीहरूका विविध सांस्कृतिक प्रतिभाहरू, विज्ञान तथा कला प्रदर्शनी, तेक्वान्दो प्रदर्शनी, विभागीय शैक्षिक रचना प्रदर्शनीहरू संलग्न रहेको यस कार्यक्रमको औपचारीक संचालन जी.टी. (नेपाली) ॠषिराज शर्माले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको पहिलो चरणको संचालन कक्षा ११ मा अध्ययनरत विद्यार्थीद्वय सिक्सटिना बोहोरा र यलन रावतले र दोस्रो चरणको कार्यक्रम कक्षा ७ मा अध्ययनरत छात्र प्रज्वल शाही र कक्षा ८ मा अध्यनरत छात्रा रितिका आचार्यद्वारा संचालन गरीएको थियो ।

