पुस १६ नेपाल ।

संवत् २०८२ साल फागुन महिनाको २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलवाट ५८ वटा निर्वाचन चिन्हमा समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेस भएका छन्।

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकिएको थियो। बन्दसूची पेस गर्ने ६४ वटा राजनीतक दलमध्ये ५४ वटा राजनीतिक दलले आ-आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी वन्दसूची पेस गरेका छन्।

नेपालको संविधानको धारा ८४ को १ (क) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने र सोही धाराको उपधारा १ (ख) मा समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।