पुस १६ नेपाल ।
नेकपा (एमाले) केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको आयोजनामा नेशनल भोलिन्टियर्स फोर्स केन्द्रीय कमाण्ड घोषणा कार्यक्रम नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका अध्यक्षता, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा, पार्टी उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदिप ज्ञावली, स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, राजन भट्टराई, शेरधन राई, पोलिटव्युरो सदस्य महेश बस्नेत, निरुदेवी पाल केन्द्रिय सदस्यहरु रामकुमारी झाक्री, राजिव पहारी, किरण पौडेलको आतिथ्यतामा, पार्टीका जनवर्गीय संगठनका प्रमुखहरु, पाटीका विभिन्न जिम्मेवारी, तहमा रहेका युवाहरुको उत्साहजनक उपस्थितिमा वृहत मार्चपास सहित काठमाडौंमा २०८२ मंसिर ५ मा सम्पन्न भएको थियो ।
यसबीचमा मिति २०८२ मंसिर १३ गत शनिवार नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय सचिवालय कमाण्डको प्रथम बैठक संगठनका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिटव्यूरा सदस्य महेश बस्नेतको विशेष आतिथ्यतामा बसी महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको थियो ।
वर्तमान राजनीतिक सन्दर्भमा विषेश गरी भाद्र २३ र २४ मा भएको जेन जी आन्दोलनबाट सिर्जित विषम परिस्थितिको सामना गर्नका लागि पार्टीभित्र प्रतिरोधी संगठनको आवश्यकता महसुस गर्दै पुष्पराज श्रेष्ठको प्रमुख कमाण्ड रहने गरी नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्ड घोषणा भएको थियो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर विश्लेषण गर्दै नेकपा (एमाले)ले देशी/विदेशी शक्तिहरुबाट हुने प्रहार र प्रतिपक्षी पार्टीहरुबाट हुने गलत, गैर-लोकतान्त्रिक तथा अराजक गतिविधिहरुको प्रतिरोध गर्दै पार्टी नेतृत्वको रक्षा र आम नेपाली जनताका शान्ति सुरक्षा गर्न शक्तिको रुपमा पार्टीले जनसंगठन समन्वय सम्बन्धि निर्देशिका-२०७८ को अनुसूची “१” मा रहने गरी २४ औं जनसंगठनका रुपमा स्थापित भएको संगठनले जनाएको छ ।
लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताका रक्षा गर्न र पार्टीको नीति, विचार र सिद्वान्तलाई कार्यान्वयन गर्दै देशव्यापी सांगठनिक र राजनीतिक गतिविधिहरु मार्फत मुलुकभरका देशभक्त, प्रगतिशील, क्रान्तिकारी, जुझारु युवाहरुलाई संगठनमा गोलवन्द गर्न भरपर्दो, अनुशासित र सक्रिय जनवर्गीय संगठनको रुपमा नेशनल भोलिन्टियर फोर्सलाई पार्टीले अघि सारको छ ।
नेशनल भोलिन्टियर फोर्सको स्थापना नै विशिष्ट र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नका लागि भएकाले तदारुकताका साथ त्यसै अनुरुप तयार रहदै जिम्मेवारी बहन गर्न संगठनले सर्कुलर जारी गरेको जनाएको छ ।





