पुस १० नेपाल ।
आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन मन्त्रालयबाट एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरेको मन्त्रालयको सूचनामा उल्लेख छ ।
उक्त निर्देशिकाअनुसार सम्पूर्ण एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रमा आवद्ध भई सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । हाल उक्त निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सहरूले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको प्रेषण व प्रेषण केन्द्रको निर्देशन बिना निजी तथा महँगा अस्पतालहरूमा लैजाने गरेको भन्ने गुनासाहरु मन्त्रालयमा प्राप्त भएको मन्त्रालयले बताएको ।
अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो। यस सम्बन्धमा सम्पूर्ण एम्बुलेन्स चालकहरूलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान मन्त्रालयले अनुरोध गरेको छ ।
कसैले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ बमोजिमका प्रावधानहरू पालना नगरि आर्थिक लाभ लगायतका अन्य मापदण्ड विपरित कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत मन्त्रालयले सूचना जारी गरेर चेतावनी दिएको छ ।

