मंसिर २९ नेपाल ।

सिन्धुली जिल्ला सुनकोशी गा.पा.-६, वि.पी. राजमार्गसँगै जोडिएको चैनपुरको सिरानमा रहेको अति रमणिय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रातो डाँडालाई अघिल्लो कार्यकालमा सुनकोशी गा.पा. को कार्यपालिकाको बैठकको निर्णय अनुसार कबुलियति बनबाट राष्ट्रिय बनमा परिणत गरी ३० वर्षका लागि रेष्टोरिङ्ग द रिफ्रेस सेन्टरलाई भाडामा दिने निर्णय अनुसार मिति २०८२ कात्तिक २९ गते सार्वजनिक सुनुवाईको आह्वान समेत भईसकेको विषयमा नेकपा एमाले पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

केही व्यक्तिहरुको सिमित स्वार्थको लागि सार्वजनिक स्वामित्वमा रहेको राज्यको सम्पत्तिको रुपमा रहेको ५८० रोपनी (२९ हेक्टर) जग्गा कब्जा गर्ने, स्थानीय समुदाय र पालिका तहमा सर्वपक्षिय छलफल नै नगरी जग्गा हत्याउने प्रयासका लागि सोझासाझा जनतालाई प्रलोभनमा पारेर टहरामा सामान्य व्यवसाय गर्न दिने प्रलोभन देखाएर स्थानीय जनसमुदाय र उपभोक्ताको उपभोग्य अधिकारबाट वञ्चित गर्ने अनुचित कार्य प्रति एमाले पार्टीले आपत्ति प्रकट गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।

स्थानीय स्वायत्त शासन भू-उपयोग ऐन बमोजिम पालिका आफैले गुरुयोजना बनाई स्थानीय उपभोक्तालाई सहभागी गराई स्थानीय जनताको अग्राधिकारलाई ग्यारेन्टी गर्ने गरी पालिकाको आन्तरिक आम्दानीको श्रोतको रुपमा सो जग्गा प्रयोग हुनुपर्दछ भन्ने पार्टीको स्पष्ट दृष्टिकोण रहेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

केही संचार माध्यमले आर्थिक चलखेलमा नेकपा (एमाले) को समेत संलग्नता छ भनी भ्रामक प्रचार गरेको भन्दै भ्रामक समाचार प्रति खेद प्रकट समेत गर्दै कोही कसैले गरेको भए त्यसको सप्रमाण पेश गर्न नेकपा (एमाले) सिन्धुलीले माग गरेको छ।