मंसिर १९ नेपाल । मिति २०८२ मंसिर १७ गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा उपभोक्ता अदालतमा परेका स्वास्थ्य सम्बन्धी मुद्दाहरुको विषयमा प्रकाशित समाचार प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उपभोक्ता अदालतद्वारा फैसला भई सम्मानित उच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरुका सम्बन्धमा उपभोक्ता अदालतका सूचना अधिकृतद्वारा राष्ट्रिय दैनिकमा अभिव्यक्ति दिईएको प्रति संघको गम्भीर आपत्ति रहेको छ । सम्मानित उच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाहरूका बारेमा सार्वजनिक रूपमा अभिव्यक्ति दिने कार्यले अदालतको अपहेलना हुनुका साथै अदालतको निर्णयलाई प्रभावित पार्ने संघको ठहर छ ।

जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा यस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिने कार्यले आम जनमानसमा भ्रम सिर्जना हुने र सम्मानित अदालतको गरिमामा आंच पुग्ने भएकोले अब उप्रान्त यस्तो अभिव्यक्ति नदिन र उक्त अभिव्यक्तिप्रति अविलम्ब आत्मआलोचना गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ । नेपाल चिकित्सक संघ द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।