मंसिर १८ नेपाल ।२०८२ भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी युवाको आन्दोलनपश्चात् उत्पन्न विषम राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न र राष्ट्रिय सहमति कायम गर्नका निम्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई एक अभिभावकका रूपमा प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ। न्यायपालिकाको सर्वोच्च पदबाट अवकाश लिएको आठ वर्षपछि उहाँलाई देशले शान्ति स्थापना र सुशासनको आधारशीला निर्माण गर्दै निर्वाचनमार्फत दिगो लोकतान्त्रिक स्थिर सरकार सुनिश्चित गर्ने महत्त्वपूर्ण राष्ट्रिय जिम्मेवारी सुम्पेको छ। यही मूल कार्यादेशमा रहेर उहाँ २०८२ भदौ २७ गतेदेखि प्रधानमन्त्रीको भूमिकामा क्रियाशील हुनुहुन्छ।
सम्माननीय प्रधानमन्त्री कार्कीको जन्म वि.सं. २००९ साल जेठ २५ गते विराटनगर, मोरङमा भएको हो। उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ। उहाँ विद्यार्थीकालदेखि नै तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएको थियो। महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गर्दा होस् या कानुन व्यवसाय तथा नेपाल बार एसोसिएसनका विभिन्न समितिको नेतृत्व लिँदा, उहाँले सधैँ खुला, पारदर्शी र जवाफदेही व्यवस्थाको पैरवी गर्नुभयो। उहाँले जस्तोसुकै परिस्थितिमा पनि बहुदलीय लोकतान्त्रिक व्यवस्थाका पक्षमा आफूलाई उभ्याउँदै आउनुभएको छ। उहाँले वि.सं. २०३५ सालमा अधिवक्ताको इजाजत प्राप्त गरी करिब तीन दशक वकालत गर्नुभयो। वकालत पेसामा पुर्‍याएको योगदानका लागि वि.सं. २०६१ सालमा सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो।
२०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएपछि उहाँ बारबाट बेन्चमा प्रवेश गर्नुभयो। उहाँ २०७३ वैशाखदेखि २०७४ जेठसम्म नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गर्नुभयो।न्यायाधीश र प्रधानन्यायाधीशका  रूपमा रहँदा उहाँले साहस, निष्ठा र पारदर्शिताका साथ न्याय प्रणाली सुधार र भ्रष्टाचारविरुद्ध क्रियाशीलता देखाउनुभयो। उहाँको यस कार्यले कानुनी शासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिमा कोशेढुंगा स्थापित गरेको छ।
जेनजी युवा आन्दोलन र त्यसपछिको राजनीतिक शून्यतामा प्रधानमन्त्री नियुक्त हुनुभएपछि उहाँको नेतृत्वमा रहेको सरकार शान्ति, स्थिरता, भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रतिबद्ध रहँदै दिगो लोकतान्त्रिक अभ्यासमा आधारित स्थिर शासनको जग बसाल्न केन्द्रित रहेको छ।नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्रीका रुपमा इतिहास बनाउन सफल उहाँका ‘न्याय’, ‘लैंगिक समानता’, ‘महिलावाद’, ‘कारा’ आदि पुस्तकाकार कृतिहरू प्रकाशित छन्। (श्रोत: नेपाल शरकारको वेबसाईट)