मंसिर १० नेपाल । संवत् २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति २०८२ मंसिर ४ मा आयोगबाट मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अध्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ।
मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८२ फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी २०८२ मंसिर ५ सम्म देशभरबाट सङ्कलित मतदाता मध्ये संवत् २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली संवत् २०८२ मंसिर २० गते आयोगको वेबसाईटमा प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।
उक्त नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म निर्वाचन आयोगको वेबसाईटमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरुका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने व्यहोरा निर्वाचन आयोगले जनाएको छ।
