मंसिर ४ नेपाल । सिंहदरबार स्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीज्यूको अध्यक्षतामा अर्थमन्त्रीज, गृहमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षासचिवको उपस्थितिमा राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठक हिजो मंसिर ४ गते सम्पन्न भएको छ।
उक्त बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा छलफल भएको छ।
राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१।८२) को मस्यौदा माथि समेत छलफल भई उक्त मस्यौदालाई आवश्यक संशोधन सहित स्वीकृत गरी नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको छ।
साथै, मिति २०८२ साल फाल्गुण २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ।
