मंसिर ४, नेपाल ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. प्रचण्डले बाराको सिमरामा हिजोदेखि जारी तनाब र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले स्थितिलाई थप जटिल र नियन्त्रणबाहिर जान नदिन सबै सरोकारवालालाई उच्च स्तरको संयमता अपनाउन आग्रह गरेका छन्।

प्रचण्डले लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुने भए पनि त्यसलाई हिंसा तथा उक्साहटमा रुपान्तरण गर्नु अलोकतान्त्रिक प्रवृत्ति भएको उल्लेख गरे। राजनीतिक दल र नेताहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्ने, सभा–समारोह आयोजना गर्ने वातावरण सुनिश्चित गर्न सरकारले आवश्यक ध्यान दिनुपर्ने उनको माग छ।

आगामी निर्वाचन नजिकिँदै गर्दा कुनै पनि घटनाले चुनावी प्रक्रिया, शान्ति–सुरक्षा र निष्पक्ष माहोलमा नकारात्मक असर नपरोस् भन्ने विषयमा सबै राजनीतिक पक्षहरूलाई जिम्मेवार बन्न उनले आह्वान गरेका छन्।

यससँगै, प्रचण्डले आफ्ना स्थानीय पार्टी संरचनाहरूलाई पनि तनावपूर्ण अवस्थालाई सामान्य बनाउन आवश्यक पहल र सहजीकरण गर्न निर्देशन दिएका छन्।