मंसिर ४, नेपाल ।
त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) कीर्तिपुरले नेपाल प्रिमियर लिग (NPL) क्रिकेट खेलका दर्शकहरूबाट रंगशाला परिसर आसपास पार्किङ्ग शुल्क लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले यस सम्बन्धमा कुनै पनि व्यक्ति, संस्था वा संघसँग अनुमति नदिएको र कुनै सम्झौता नगरेको स्पष्ट गरेको छ।
त्रि.वि. कीर्तिपुर परिसरमा रहेको क्रिकेट रंगशालामा नेपाल क्रिकेट संघ (CAN) द्वारा सञ्चालित खेल हेर्न आएका दर्शकहरूले विश्वविद्यालय परिसर नजिक रहेका जग्गामा सवारी पार्किङ्ग गरेबापत शुल्क लिइएको भन्ने सूचना विश्वविद्यालयसम्म पुगेपछि सूचना तथा जनसम्पर्क महाशाखाले बुधबार एक सूचना जारी गरेको हो।
सूचना अनुसार, त्रि.वि. को जग्गामा सशुल्क पार्किङ्ग सञ्चालन गर्ने विषयमा कुनै पनि तहका निकायलाई कत्तिपनि अनुमति नदिइएको र अनधिकृत रूपमा शुल्क असुली गरिएकोप्रति विश्वविद्यालयले आपत्ति जनाएको छ। साथै, सम्बन्धित सबै पक्षलाई भ्रामक गतिविधि नगर्न र विश्वविद्यालयको अवमूल्यन हुने कार्य नगराउन आग्रह गरिएको छ।
सूचना प्रमुख लिल्ली थापाले हस्ताक्षरित उक्त सूचनामा यस विषयमा छानबिन गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।

