कात्तिक २८ नेपाल । ´आदरणीय महामन्त्रीज्यू, सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानको एउट सदस्य हुन पाएकोमा र रास्वपाको जिम्मेवार सदस्य भएर नेपाली समाजको रुपान्तरणमा थोरै भएपनि राजनीतिक योगदान गर्न पाएकोमा वैकल्पिक राजनीतिक अभियानका सुरुवातकर्ता सबैप्रति हार्दिक नमन! रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको छु`।

´निरन्तर पार्टीमा विचारको बहस गरिरहँद त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कम्जोरीको रुपमा लिएकोछु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुखी छु। यसै सन्दर्भमा, गएको भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen-G) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ`।

´जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाई हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको छ। नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ। तसर्थ, बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु`।

´रास्वपामा रहेर विभिन्न भूमिकामा काम गरिरहँदा मलाई साथ र सहयोग गर्ने सबै रास्वपाका प्रिय साथीहरुप्रति आभारी छु। यो देश निर्माणको क्रममा, समाज रुपान्तरणको क्रममा अनि आम नेपाली नगरिकको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउने राजनीतिक यात्रामा फेरि भेटियो भने, मिठो सहकार्य हुनेछ`। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सचिवालय सदस्य सन्तोष परियारले राजीनामा पत्रमा लेखेका छन ।