२०८२ कात्तिक २२ नेपाल । मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा हामी सबै जानकार नै छौं। सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरु जनतावाट टाढिदै गएका थिए। दलहरुमा सुधारका प्रयासहरु असफल हुँदै गएका थिए । जसले गर्दा ती दलहरुले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंशलाई थेग्न सकेनन् । त्यसपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएका छन् । राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ। मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिंडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।

आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलवन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ। राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ ।

हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि वढ्न सङ्कल्पवद्ध भएका छौं । र, सबै प्रतिवद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौं ।नेकपा का महासचिव विप्लव सी,नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियान जनार्दन शर्मा ले हस्ताक्षर गरेर जारी गरिएको बिज्ञप्तीमा भनिएको छ।