२०८२ कात्तिक १३ नेपाल । जल तथा मौसम विज्ञान विभागको मिति २०८२ कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपण अनुसार २०८२ कार्तिक १३ गते बिहीबार बिहानदेखि मिति २०८२ कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ।
सर्तक रहनुपर्ने प्रदेश र जिल्लाहरु:
कोशी प्रदेशका सबै जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा।
मधेश प्रदेशका सबै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही।
बागमती प्रदेशकासबै जिल्ला मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवा।
गण्डकी प्रदेशका गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ, मुस्ताङ।
लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङ।
विभागले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लाहरुमा मौसम सम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न समेत आग्रह गरेको छ।
सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य सम्बन्धी देहाय बमोजिमका कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको पत्रमा उल्लेख रहेको छ।
क) अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्ने।
ख) डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने।आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।
ग) प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराखे। जोखिम देखिए सुरक्षित स्थानमा सर्ने।
घ) धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।
ङ) प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्ने। सोको पालना गर्ने, गराउने।
च) तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
छ) पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सचेत पत्र जारी गरेको छ।

