२०८१ फागुन १५ काठमाडौ । सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ: काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उज्वेकिस्तानका नागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीया FAYZIEVA SAODAT र ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका AKHMEDOVA को साथबाट १ हजार २ सय ५ ग्राम र MARIFALIEVA को साथबाट १ हजार २ सय १० ग्राम र FAYZIEVA को साथबाट १ हजार ३ सय ३० ग्राम उक्त धातु फेला पारी सोधपुछको क्रममा उक्त धातु TURSUNOV ले प्रलोभनमा पारी बोक्न लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले चारै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।
अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ:
झापाको भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्राम सहित सोही नगरपालिका-९ विकासटोल बस्ने २६ वर्षीय दिपेन्द्र खापुङ्लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ५९९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित दुई जना पक्राउ:
दाङको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने सोही उपमहानगरपालिका-१६ घर भएका इन्द्र बहादुर विकको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले मेडिकल तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ फेला पारी इन्द्र बहादुरलाई समेत पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ: बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपैयाँ, मोबाईल ७ थान र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (क्रान्ति)