२०८१ फागुन ३ काठमाडौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् ।
उनीहरूले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरू उपर मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी समाचारले जनाएको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी समाचारले जनाएको छ ।

बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना महिलाको उद्धार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरी समाचारले जनाएको छ ।  (क्रान्ति)