२०८१ माघ २९ काठमाडौ । बिश्व सुरक्षीत ईन्टरनेट दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपि शर्मा ओलिले शुभकामना व्यक्त गरेका छन । आज प्रधानमन्त्री ओलि द्वारा जारी शुभकामना पत्रमा भनिएको जस्ताको त्यस्तै: ´शुभकामना पत्र,
सुरक्षित इन्टरनेट, सधैंका लागि, सबैका लागि भन्ने नाराका साथ आज हामी विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाइरहेका छौं। हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वव्यापी रुपमा मनाइने सुरक्षित इन्टरनेट दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
हामीले नेपालको विकास र नेपालीको विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्तिबाट हो । यसको पुर्वाधारको रुपमा हामीले हरेक ठाउँमा सबैको पहुँच हुनेगरी इन्टरनेटको विस्तारलाई तीव्रताका साथ अगाडि बढाइरहेका छौं । हाम्रा युवाहरुलाई दक्ष बनाउनु छ, सक्षम बनाउनु छ । हामीले मुलुकको समग्र रुपान्तरणको लागि डिजिटल नेपाल फ्रेमवर्क तयार गरिरहेका छौं । अहिलेको समय आइटी फर अल, आइटी फर विजनेश, आइटी फर एजुकेशन, आइटी फर इन्फर्मेशन हो । एआइको जमानामा भन्ने हो भने आइटी इज फर एभ्रिथिङ ! साइन्स र टेक्नोलोजी हाम्रा पूर्खाहरुले उहिले सुरु गरिसकेको चिजमा हामी फेरि फर्किएर पुग्दै छौं । हामी अरुले बनाएको मोबाइल चलाउँछौं, अरुको सफ्टवेयर चलाउँछौं, अरुका एप्स चलाउँछौं । अहिले भर्खर हामीले नागरिक एपजस्ता कुराहरु संचालनमा ल्याएर, चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्स) लगायतका चिजहरु त्यसैमा समेटेर लान सकिने गरी विकास गरेका छौं । जसले आजको समयलाई बुझ्दैन उसले प्रगति गर्दैन । समय बुझ्नका लागि एआइ बुझ्नु पर्दछ, आइटी बुझ्नु पर्दछ । अबको समय आइटीले, साइन्स एण्ड टेक्नोलोजीले लिड नेतृत्व गर्छ । अब हामीले हरेक क्षेत्रमा साइन्स एण्ड टेक्नोलोजीको प्रयोगद्वारा परिवर्तन गर्नु पर्दछ । आधुनिकीकरण गर्नु पर्दछ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण लगायत सम्बद्ध निकायको भूमिका प्रभावकारी हुनुपर्छ ।
यस पटक मैले एउटा अभियान नै चलाउन खोजेको थिएँ। गत वर्ष एसइइको नतिजा अत्यन्तै न्यून रह्यो । पढाएका विद्यार्थीहरु मध्ये हाम्रो लगाती, अभिभावकहरुको लगानी, विद्यार्थीको मेहनत ४८ प्रतिशत मात्रै सफल हुनु र ५२ प्रतिशत असफलतामा जानु, यो भन्दा अप्रिय के हुन्छ ? अहिले यस सम्बन्धमा सरोकारवालसँगको सहकार्यमा सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । ५७ हजारभन्दा बढी विद्यार्थी आजको दिनमा इन्टरनेटको माध्यमबाट पढाउन सकिएको छ । अब हामी सबै क्षेत्रमा इन्टरनेटको माध्यमबाट कामलाई अगाडि बढाउँदै छौं । सरकारले विकास निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन पनि इन्टरनेटकै माध्यमबाट गरिरहेको छ ।
अन्त्यमा, इन्टरनेट दिवसका अवसरमा सबैले यसको उच्चतम सदुपयोग गर्दै यसबाट विकास निर्माणको काममा सहजता ल्याउन सकोस्, सबैमा शुभकामना गर्दछु` । (क्रान्ति)