२०८१ माघ २७ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझाएर आज रिहा भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा माघ २५ गते जिल्ला अदालत काठमाडौँले उनीसहित ३ जनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।
दुई जना धरौटी बुझाएर सोही दिन रिहा भएका थिए । तर हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँ बस्ने हुम्ला जिल्ला पार्टी उपसभापति महानन्द जैसीले भने धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको थियो।
जैसी रिहाईका लागि आज आइतबार एक लाख रुपैयाँ धरौटी बुझाइएको थियो। तत्पश्चात जैसी आज रिहा भएका हुन। जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ज्यान मार्ने उद्योगमा तीनै जनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेका थिए। हातपातको आरोपमा पक्राउ परेका जैसीले आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको अदालत समक्ष इन्कारी बयान दिएका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथी राष्ट्रिय स्वतन्त्रले आक्रमण गर्न कुनै निर्देशन पार्टीले नदिएको, त्रिपाठी माथी आक्रमण गर्ने आक्रमणकारीलाई छानबिन गरेर कडा कानुनी कारबाही गर्न गराउन आह्वान गर्दै त्रिपाठी माथी भएको आक्रमणकै दिन प्रेस बिज्ञप्ती जारी गरेको थियो। (क्रान्ति)