लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । विसं २०७७ चैत २४ गते सम्झौता भएर निर्माणकार्य सुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन ।

लुम्बिनी प्रदेश गौरवको योजनाका रूपमा रहेको यस ट्रमा सेन्टरको काम कछुवागतिमा हुनुले प्रदेश सरकारलाई नै गिज्याइरहेको छ । कतै बजेट अभावमा काम अलपत्र परेका छन्, भने कतै बजेट हुँदाहुँदै पनि समयमा काम सम्पन्न हुन सकिरहेका छैनन् ।

ट्रमा सेन्टर बनाउनका लागि दाङको लमही उपयुक्त भएको भन्दै लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको लमही नगरपालिकाका पूर्वनगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गसँग सटेको, दुर्घटना भइहालेमा घाइते र बिरामीलाई तुरुन्तै अस्पताल पु¥याउन सकिने स्थान भएकोले लमही प्रदेश सरकारको रोजाइमा परेको उहाँको भनाइ छ ।

“हामी जनप्रतिनिधि भएर आइसकेपछि ती जग्गा स्थानीय सरकारको मातहतमा हुन्छ भन्ने बुझ्यौँ, त्यही बेला प्रदेश सरकारले ट्रमा सेन्टरका लागि जग्गा चाहियो भनेर हामीलाई खबर गरेपछि त्यहाँ भएको सहकारीलाई अन्यत्र व्यवस्थापन गरेर जग्गा उपलब्ध गराएका हौँ”, पूर्वनगर प्रमुख केसीले भन्नुभयो ।

केसीका अनुसार ट्रमा सेन्टर बन्दै गरेको जग्गा ऐलानी हो । त्यहाँ एउटा सहकारी सञ्चालन भइरहेको थियो । त्यसभित्र केही रुख पनि थिए । लुम्बिनी प्रदेश सरकारले सोही जग्गा उपलब्ध गराई दिन भनेर लमही नगरपालिकालाई भनेपछि नगरपालिकाले सहकारी अन्यत्र व्यवस्थापन गर्न पत्राचार गरे पनि सहकारी सञ्चालकबाट तत्काल सार्न नसकिने भनेपछि विवाद उत्पन्न भएको थियो । रासस