जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएकाे छ ।
पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिनुभएकाे छ ।
भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उहाँ जागिरको सिलसिलामा अष्ट्रेलिया पुग्नुभयो । उहाँले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गर्नुभयो । “अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।”
उहाँ अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्नुहुन्थ्यो । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उहाँ स्वदेशी फर्कनुभयो । छ वर्ष अघि स्वदेश फर्कनु भएका उहाँले हामी मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ भने तीन जनालाई जागिर पनि दिनुभएको छ ।
होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उहाँले भन्नुभयो, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताउनुभयो । रासस