पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थी नआउने बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ । गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले आगामी साउन २ गतेबाट मलमास पर्ने भएकाले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने जानकारी दिनुभयो । उहाँले यस वर्ष साउने सङ्क्रान्तिपछिका सोमबार धार्मिकरूपले दर्शनार्थी कम आउने बताउनुभयो ।

महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरूका लागि उचित समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरू घुम्न र भगवान्को दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामनापूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रूपमा भगवान्को दर्शन र गङ्गा स्नान गर्न सकिने भए पनि मनोकामनापूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले भोलि साउने सङ्क्रान्तिका दिन सोमबार परेकाले त्यस दिनका लागि आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले सङ्क्रान्तिका दिन धेरै भक्तजन आउन सक्ने भएकाले सुरक्षा र अन्य व्यवस्थापनका काम गरिएको जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झन्डै दुई लाखजति दर्शनार्थी देवघाट आउने अनुमान गरिएको बताउनुभयो । साउने सङ्क्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकाले झन्डै ५० हजारजति भक्तजन आउने उहाँको अनुमान छ ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरू खासै रोक्न जरुरी नभएको बताउनुभयो । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ । रासस