काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डङ्गोलले जोड दिनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि मातहतका सम्बन्धित सबै विभागीय प्रमुखलाई जिम्मेवार बनाई सोहीअनुसार काम अघि बढाइन्छ ।

कामपाले अनुगमन मूल्याङ्कन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउनुपर्ने पनि उहाँले बताउनुभयो । अनुगमन गर्न जाने अधिकारीसँग विषयसम्बन्धी कानूनी तथा प्रशासनिक ज्ञान र कार्य सञ्चालन÷सम्पादनको प्रक्रियाका विषयमा थाहा हुनुपर्छ । त्यसबारे नतिजा थाहा हुनुपर्छ । यति भए मात्र प्रभावकारी अनुगमन हुन सक्छ ।

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।

रासस