बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उहाँको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्नुहुन्छ ।

मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्कनुहुन्छ उहाँ । “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्”, उहाँले भन्नुभयो, “आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो । कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभए पनि बोकेर ल्याइएका सबै तरकारी बेचेर फर्कन्छु ।” शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आउनुभएको बताउनुभयो ।

प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले यसपटक बर्खे तरकारी बेचेर रु एक लाख ९५ हजार कमाई गरेको बताउनुभयो । “दैनिक आम्दानी थोरै भनेको रु तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ । हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर रु एक लाख ९५ हजारको कमाई भएको रहेछ ।” तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उहाँले बताउनुभयो । शान्तिको चार छोरीसहित छ जनाको परिवार छन् । रासस