पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी पिउने गरेको र यसले उनीहरूको स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय पर्वतले आज खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय माझ उक्त नतिजा सार्वजनिक गरेको हो ।

“इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने खतरा बढेको छ । यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ”, उहाँले भन्नुभयो, “हिउँदको समयमा भन्दा वर्षातको समयमा इ.कोली बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।”

ल्याब टेक्निसियन दीपा केसीका अनुसार खाने पानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ । उहाँका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न पाँच वटा आयोजनाबाट २० वटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा आठ वटामा इ.कोली देखिएको छ भने बाँकी १२ वटा नमूनामा खान योग्य देखिएको छ ।

रासस