ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँस्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । उहाँका अनुसार आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने छ ।

यस्तै स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गर्नुभयो । बाढीपहिराका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिराकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ । रासस