पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो ।

पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि उनीहरु औधी खुशी भएका हुन् । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा सञ्चालन गरिएका यस्ता पढाइ वरदान सावित भएका छन् ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषयको पढाइ सञ्चालन भएपछि सामुदायिक विद्यालयमा करिब सात प्रतिशत विद्यार्थी सङ्ख्यामा वृद्धि भएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सोमनाथ भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरमा नेपाल सरकारकोतर्पmबाट शुक्रराज मावि पुम्दी भुम्दीमा भेटेरीनरी, महेन्द्र मावि भलाममा कृषि, बह्मरुपा मावि राजाकोचौतारोमा कम्प्युटर विज्ञान, जनप्रिय मावि सिमलचौरमा सिभिल इन्जिनियरिङ अम्विका मावि सुइखेत हेम्जामा कम्प्युटर विज्ञान पढाइ भइरहेको छ ।

त्यसैगरी सिटिइभिटीअन्तर्गत जानकी मावि महतगौडामा वन विज्ञान, सरस्वतीटीका मावि सिभिल इन्जिनियरिङ र आनन्दज्योति मावि बेगनासमा कृषि विषयका पढाइ सञ्चालन गर्दे आएको उहाँको भनाई छ ।

“विद्यार्थी, शिक्षक र अभिवाकको त्रिकोणात्मक प्रयास एवम् सरोकारवाला निकायको प्रभावकारी अनुगमनले शैक्षिक गुणस्तरमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “महानगरअन्तर्गतका अमरसिंह, छोरेपाटन, जनचेतना, सितलादेवी लगायतका दर्जनभन्दा बढी विद्यालयमा वार्षिकरुपमा भर्नादरमा अत्यधिक चाप बढेको छ ।

सुविधा सम्पन्न भौतिक पूवाधार निर्माण भएर पनि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्ने क्रम बढेपछि महानगरले प्राविधिक विषयमा पहल गर्दै आवश्यक भौतिक संरचना एवं प्रयोगशाला स्थापना सहयोग गर्दै आएको उहाँले रासससँग बताउनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत महानगरका विभिन्न २१ विद्यालयमा पाँचदेखि ५० लाखसम्मका भौतिक संरचना निर्माण भइरहेको बताउँदै प्रमुख भण्डारीले भन्नुभयो, शैक्षिक क्षेत्रमा भएको सुधारका कारण संस्थागत विद्यालयबाट वार्षिक सङ्ख्यामा विद्यार्थी सामुदायिक विद्यालय भर्ना हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

ऐतिहासिक एवं धार्मिक क्षेत्र ढुङ्गेसाँघु (महतगौडा) जानकी माध्यमिक विद्यालयमा तीन वर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको हो ।

उक्त विषयमा पढाइ सञ्चालन गर्ने जिल्लाकै पहिलो जानकी माविमा हाल १६ विद्यार्थी अध्ययन र आठ शिक्षक शिक्षिका अध्यापनरत रहेको वन विज्ञान संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको रु २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालनमा आएको छ । रासस