काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।
यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताउनुभयो । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उहाँले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रुपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उहाँले बताउनुभयो ।
“व्यावसायिक रुपमा उत्पादन कम भएकाले पनि उत्पादन गरेको कफी वार्षिक एक हजार पाँच सय केजी निर्यात गर्दै आएका छौँ”, लामाले भन्नुभयो, “हामीले पहिलादेखि विशेषगरी फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समयमा कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौँ । जसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ ।रासस