नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालले ३० को दशकदेखि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको निधनको खबरले स्तब्ध तुल्याएको छ ।”

मुलुकको राजनीतिक विकासक्रममा दिवङ्गत दाहालले पुर्याउनुभएको योगदानको इतिहासमा अविश्मरणीय रहने नेता खनालले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

विज्ञप्तिमा पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो ।रासस