८० असार २७ काठमाडौ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ ।

आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो । विसं २०५१ मा जिल्लामा पहिलो आयुर्वेद केन्द्र स्थापना भएको थियो । आयुर्वेद सेवाप्रति बिरामीको आकर्षणसँगै केन्द्र थप गर्नका लागि सेवाग्राहीको माग बढेको हो ।

कार्यालय प्रमुख डा कोपिला अधिकारीले भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिकामा केन्द्र थप गर्नका लागि माग बढेको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष माडी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गर्न स्वास्थ्य केन्द्रले स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको उहाँले जानकारी दिनुभयो । बजेटको अवस्था र मन्त्रालयको अनुमति भए भरतपुर महानगरमा थेरापीसहितको केन्द्र र खैरहनीमा समेत नागरिक आरोग्य केन्द्र थप गरिने उहाँले बताउनुभयो । आवश्यकता महसुस भए र बजेटले सम्बोधन गरे तीन स्थानमा नै सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

आगामी आवमा एक स्थानमा मात्रै केन्द्र थप्ने योजनामा रहेको अधिकारीले बताउनुभयो । अहिले जिल्लाका सात पालिकामा नै सेवा दिँदै आएको स्वास्थ्य केन्द्रले सेवालाई चुस्त र गाउँगाउँमा पु¥याउने लक्ष्य लिएको छ । अहिले उपचार केन्द्र चार वटा, आठ वटा औषधालय र एउटा स्वास्थ्य केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

जनताको माग बढेसँगै विगत तीन वर्षदेखि केन्द्र विस्तारको काम गरिँदै आइएको उहाँको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य केन्द्र, उपचार केन्द्र र औषधालयबाट चालु आवको जेठ मसान्तसम्ममा ५० हजार एक सय ८३ जनाले सेवा लिएका छन् ।

बिरामीको चाप बढेसँगै सरकारले प्रादेशिक आयुर्वेद अस्पताल निर्माणको कामलाई तीव्र बनाएको छ । रत्ननगर नगरपालिकामा १० कठ्ठा जग्गामा अस्पताल निर्माणको कामलाई तीव्र बनाइएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने उद्देश्यका साथ भवन निर्माणको कामलाई तीव्र बनाइएको हो । बहुवर्षीय योजनाअन्तर्गत रु १३ करोडको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

तीन वटा भवन निर्माणका लागि सम्राट इन्जिनियरिङ निर्माण सेवा पिप्ले राप्ती चितवनले ठेक्का सम्झौता गरी कामलाई अघि बढाएको छ । अहिलेसम्म निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो । नवनिर्मत भवनमा एउटा तीन तलाको र दुई वटा दुई तलाको हुनेछ । यहाँ थेरापी ब्लक, प्रशासन भवन, ओपिडी भवन र प्रयोगशाला रहने उहाँले बताउनुभयो । रासस