नेपाल विद्यापति मैथिली पुरस्कार, २०७९ अन्तर्गत भाषा साहित्य विधातर्फको पुरस्कार साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ ।

विद्यापति पुरस्कार कोष जनकपुरधामद्वारा मङ्गलबार जनकपुरधाममा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट स्थापित विभिन्न चार विधातर्फका पुरस्कार चौधरीलगायत पाँच जना स्रष्टालाई अर्पण गर्नुभयो ।

रु दुई लाख नगद राशि रहेको विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषाको विदेह नगरपालिका–२ का चौधरी, अनुवादतर्फ रु एक लाख राशिको पुरस्कार धनुषाको सहिदनगर नगरपालिका–२ निवासी उपप्राध्यापक रमेशकुमार यादव, पाण्डुलिपितर्फ महोत्तरीको लोहारपट्टी घर भई हाल जनकपुर निवासी साहित्यकार महेन्द्रकुमार मिश्र तथा रु ५०÷५० हजार राशिको कला–संस्कृतितर्फको पुरस्कार जनकपुरधाम–१० निवासी आभाष लाभ र जनकपुरधाम–१४ निवासी वैद्यनाथ पटेललाई प्रदान गरिएको छ ।

पुरस्कार अर्पण गर्नुहुँदै मन्त्री किरातीले मैथिली भाषाका महाकवि विद्यापतिले मधेस र पहाडीबीच भावनात्मक एकता कायम गर्न खेलेको भूमिका अवर्णनीय रहेको बताउनुभयो । “करिब छ सय वर्षअगाडि तत्कालीन मिथिलाञ्चलमा जन्मनुभएका महाकवि विद्यापतिले नेपाल र भारतलाई मात्र नभई मधेस र पहाडलाई पनि भावनात्मक एकतामा बाँध्ने काम गर्नुभयो । त्यसैले उहाँ भावनात्मक एकताको प्रतीक पनि हो”, मन्त्री किरातीले भन्नुभयो, “उहाँको पाण्डुलिपि अहिले पनि नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । विद्यापति जन्मेको स्थान अहिले जुन भूगोलमा परे पनि उहाँले मैथिली भाषा साहित्यको विकास, मधेस र पहाडबीच भावनात्मक एकता कायम गर्न खेलेको भूमिकाका हिसाबले उहाँमाथि हाम्रो सम्मान, हक र दाबी छ ।रासस