काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्राँै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।

सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय रु ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट रु २० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो । नगरको नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय व्ययसहितको बजेट पास भएको छ । यस्तै सभाले २०७९÷८० को वार्षिक प्रतिवेदन तथा नगरले गरेका निर्णय अनुमोदन गरेको छ ।

यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो । कर्मचारीसम्बन्धी ‘ओएनएम सर्वे’सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुन सकेन । सोमबार आयोजित सभामा भने उक्त प्रस्ताव कार्यसूचीमा समावेश नै गरिएन ।

भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष नगरस्तरीय योजना ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताउनुभयो । प्रस्तुत नीति तथा कार्यक्रममा नगरस्तरीय सबै र वडास्तरीय रु १० लाखभन्दा माथिका सबै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख छ । तर बजेटमा जनसहभागितामार्फत रु ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ ।रासस