काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ ।

पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गर्नुभएका छात्राहरू सङ्गीता राय र हिमानी तामाङ गरी तीन जनालाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई जनही ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । पालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो रकम वितरण गरिएको उहाँले बताउनुभयो ।

रोशी गाउँपालिकाले लिएको नीतिअन्तर्गत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थी सिकाइ अभिवृद्धिसँग आबद्ध गरी आधारभूत र माध्यमिक तहको सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान कार्यक्रम गर्दै आएको छ । सोअन्तर्गत निरन्तरता दिँदै आएको प्रोत्साहन रकम वितरणलाई यस वर्ष पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।रासस