मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।
हेटौँडा–भरतपुर खण्ड प्रसारणलाइन सञ्चालनमा आएपछि हेटाँैडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौँडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौँडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि सहज हुनेछ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । रासस