वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो ।

कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो । पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ । केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिनुभयो । वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताउनुभयो । यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ ।

वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुङ्गा सामुदायिक वन, कालिका–८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ । रासस